सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

खाडी संकट अन्त्य गर्नेबारे कुराकानी

खाडी संकट अन्त्य गर्नेबारे कुराकानी

शुक्रबार भदौ २३ , २०७४

रसुवा भदौ २४, कतारका अमीरले केही महिनायता आफ्नो देश र साउदी अरेबियाबीचको सम्बन्धमा देखिएको संकटबारे छलफल गर्न साउदी राजकुमारसँग फोनमा कुराकानी गरेका छन्। अमीर शेख तमिम बिन हमाद अल-थानीले जारी गतिरोध अन्त्य गर्ने प्रयासस्वरुप साउदी राजकुमार मोहम्मद बिन सलमानलाई फोन गरेको बताइएको छ।

कतारका अमीरले वार्ताका लागि आग्रह गर्दै साउदी अरेबिया र अन्य तीन मुलुकले अघि सारेका मागहरुबारे छलफल गर्न आफ्नो मुलुक तयार रहेको बताएको विवरणहरु आएका छन्।

कतारले अलजजीरा टेलिभिजन नेटवर्क बन्द गर्नुपर्ने र इरानसँगको सम्बन्धमा कटौती गर्नुपर्ने लगायतका माग ती मुलुकहरुले अघि सारेका छन्।

जिहादी समूहहरुलाई सघाएको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले गत जुन ५ तारिखमा कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए।

कतारले त्यो आरोप अस्वीकार गर्दै आएको छ।

कतार

REUTERS

त्यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कतारका अमीरसँग कुरा गर्दै आतंकवादविरुद्धको लडाइँमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

उनले साउदी अरेबिया र युएईका नेताहरुसँग पनि खाडी संकटबारे छुट्टा-छुट्टै कुराकानी गरेका थिए।

मध्यस्थता

खाडी मुलुकहरुबीच जारी संकट अन्त्यका निम्ति ट्रम्पले मध्यस्थता गर्ने प्रस्ताव समेत गरेका छन्।

साउदी प्रेस एजेन्सीले भनेको छ, "कतारका अमीरले वार्ताको टेबलमा बस्ने चाहना व्यक्त गर्दै सबै पक्षको हितलाई सुनिश्चित गर्न चार मुलुकले अघि सारेका मागबारे आफूहरुले छलफल गर्न चाहेको बताएका थिए।"

बहराइन, इजिप्ट र युइईसँग साउदी अरेबिया सहमतिमा पुगेपछि विस्तृत विवरण सार्वजनिक गरिने सो समाचार संस्थाले जनाएको छ।

साउदी अरेबियाले कतारसँगको नाका बन्द गरिदिएको छ भने सबै चार मुलुकले दोहासँग हवाई तथा जल सम्पर्क विच्छेद गरेका छन्।

तनाव अन्त्यका निम्ति पश्चिमा मुलुकहरुको समर्थनमा कुवेतले गर्दै आएको कूटनीतिक प्रयास सफल हुन सकेको छैन।