सोमबार पौष ३ , २०७४

फेसबुक

RJ Profile

View All

News & Events

रोहिङ्गा शरणार्थीलाई बहुपक्षीय सहयोग जरुरी

रोहिङ्गा शरणार्थीलाई बहुपक्षीय सहयोग जरुरी

बुधबार कार्तिक २९ , २०७४

कोक्स बजार, बंगलादेश, २९ कात्तिक (रासस÷प्रोजेक्ट सिन्डीकेट): बंगलादेशको तटीय शहर कोक्स बजार यतिखेर रोहिङग््या शरणार्थीका छाप्राले भरिभराउ छ । यहाँको अस्थायी शिविर नाङ्गो आँखाले देखुन्जेल जस्तापाताले छाएको ठूलो सहरझैं प्रतित हुन्छ । 

यी छाप्राभित्रको बसाई प्रचण्ड गर्मीका कारण अझ कठिन छ । ६० वर्षको उमेरमा शिविरको बास भोग्नु परेका मोहम्मद आफू बसेको नयाँ घरमा मलाई स्वागत गर्दछन् र हामीले गरेको सहयोगप्रति एक श्वासमा धन्यवाद दिन्छन् । उनी अहिले श्वासप्रश्वास नलीको सामान्य रोगबाट ग्रसित छन्, र त्यसलाई सामान्य सर्जरीबाटै ठीक गर्न सकिने भए पनि रकम जुटाउन सक्ने उनीसँग सामथ्र्य छैन । म्यान्मारको यातना र दुःखकष्ट भन्दा त अहिले बाँच्न पाएकोमै धन्य ठान्छन् उनी आफूलाई । 

म्यान्मारबाट भाग्नेक्रममा अरु नागरिक झैं मोहम्मद पनि बंगलादेश आइपुग्न पाँच दिन पैदलै हिँडेका थिए । दुर्भाग्यवस, उनको त्यो दुःख पीडा शुरुआत मात्र भएको छ । सुरक्षाका लागि भन्दै ओहिरिएका दशौँ हजार नागरिक झंै उनी आफ्ना छोराछोरी र नातिनातिनाका लागि यहाँको दलदले बाँझो जमीनमा बाँच्ने आधारको खोजीमा छन् । परिवारको खानपान अरुकै दयामा निर्भर छ, र मुख्य रुपमा यस्तो बन्दोबस्त विश्व खाद्य कार्यक्रमले उपलब्ध गराएको निर्वाहमुखी सहयोगमा टिकेको छ । 

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले झण्डै सात लाख रोहिङ्ग्यालाई आपतकालीन खाद्यान्न उपलब्ध गराइरहेको छ । डब्लुएफपीले अहिले नयाँ आउने शरणार्थीलाई तत्कालै पोषिलो बिस्कुटका साथै दर्तावाल शरणार्थीलाई नियमितरुपमा चामल, खानेतेल र दाल उपलब्ध गराउँछ । हामीले सामुदायिक भान्छामार्फत तात्तातो खाना पनि उपलब्ध गराउँछौं र गर्भवती, स्तनपान गराउने आमा र साना बालबच्चालाई थप पोषिलो खानेकुरा दिन्छौं । 

रोहिङग््या समुदाय यहाँ कुनै पनि किसिमको यातनाबाट त सुरक्षित छन्, तर बिरामी र कुपोषणको समस्याबाट दिनदिनै गल्दै छन् । हामीले यस्तो समस्याका बारेमा हरेक दिन सुनिरहेका छौं र डब्लुएफपीको सहयोग प्राप्त गरिरहेका परिवारको अवस्था जाँच गर्दा समेत यही परिस्थिति देखिन्छ । फोहोर पानीमा बालबालिका खाली खुट्टाले दिनभर खेलेको वा मानव मलमूत्र बग्ने खोल्साखोल्सीमा हिँडडूल गरेको जताततै देख्न सकिन्छ । शौचालय निर्माण अभियान अहिले जारी छ, तर पानीजन्य रोगको फैलावट रोक्न धेरै काम गर्नुपर्ने खाँचो छ । 

शरणार्थी संख्या दिनहुँ थपिएसँगै कुपोषणका बिरामीहरु, खासगरी आमाहरु र साना बालबच्चाको संख्या बढ्दो छ । पोषणसम्बन्धी पछिल्लो मूल्याँकन प्रतिवेदनको प्रारम्भिक नतिजाले चारजना बालबालिकामध्ये एकजना कुपोषित रहेको देखाएको छ, र सीमा नाघेर बंगलादेश आउने शरणार्थीमा बेग्लै तनाब देखिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने रोहिङ्या समुदाय भाग्नु अघि पनि म्यान्मारको उत्तरी राखिन राज्यमा कुपोषणको दर ज्यादै उच्च थियो । विस्थापितको स्वास्थ्य अझ बढी खराब हुनु दुःखदायी हो, साथै यति कठिन पूर्वकको यात्रा र अहिले उनीहरु रहेबसेको ठाउँको दुरुह अवस्थाले पीडामाथि पीडा थपेको छ । 

कुपोषणको स्थिति अझ डरलाग्दो नहोस् भन्नका लागि अन्तरराष्ट्रिय समुदायबाट अझ बढी स्रोतसाधन र रकमको व्यवस्था गर्नुपर्ने खाँचो भइसकेको छ । अक्टोबरको शुरुमा डब्लुएफपीले आपतकालीन सहायताका निम्ति सात करोड ७० लाख अमेरिकी डलर आवश्यक रहेको भन्दै एक अपील जारी गरेको थियो । विगतको त्यो आग्रह पूरा हुन पाएकै छैन, यता पीडितको समस्या अझ गहिरिएसँगै स्रोतसाधनको माग दिनहुँ बढ्दो क्रममा छ । 

तर यो संकटको समाधानका लागि खाद्यान्न सहयोग मात्र पर्याप्त छैन । टिठलाग्दो सरसफाई र असुरक्षित खानेपानीले स्वास्थ्यमा नयाँ चुनौती सिर्जना हुने गरेको छ । आज, नयाँ आउने आधाभन्दा बढी शरणार्थीले आफ्ना बालबच्चा झाडापखालाबाट ग्रसित रहेको हामीलाई बताइरहेका छन् । यहाँ आउँदा त्यस्ता बालबालिकाको अवस्था कमजोर भएको पाइए उनीहरुलाई पहिलो चरणमा आपतकालीन खाद्यान्न उपलब्ध गराउनु बाहेक अर्को बिकल्प हुँदैन । यस्ता शरणार्थीलाई स्थानीयरुपमा पाइने ताजा खाद्यान्न उपलब्ध गराउन सकिए त्यसले बढी फाइदा पुग्नेछ । 

खाद्यान्न बितरणमा सहजता ल्याउन डब्लुएफपीले विद्युतीय भौचर कार्यक्रमलाई बिस्तार गर्ने सोच अघि सारेको छ । उनीहरु स्थानीय बजारमै पाइने हरिया सागपात, प्याज, खुर्सानीजस्ता १९ किसिमका तरकारी किन्न यही बिधिबाट नगद प्राप्त गर्न सक्नेछन् । सन् २०१८ को सुरुआतदेखि हरेक नयाँ शरणार्थीका लागि इ–भौचर कार्यक्रम आरम्भ गर्ने हाम्रो योजना छ । यी उपायहरुले शरणार्थीलाई स्थानीय बजारबाट आफुखूशी खाद्यान्न र सागपात खरिद गर्ने अवसर प्राप्त हुनेछ । यसले स्थानीय व्यवसायमा समेत टेवा पुग्नेछ । 

कुपोषणबाट मुक्त हुन सके शिविरको जीवनको स्वास्थ्यमा पनि अवश्य सुधार देख्न सकिने छ । शिबिरमा आश्रय लिइबसेका महिला र बालबालिकाको कुपोषणको अवस्था मापन गर्न पनि सहज हुनेछ । खासगरी ठूलो परिवार नभएका वा श्रीमान्को स्वीकृति बेगर एक्लै स्वास्थ्य केन्द्रसम्म जान नपाउने महिलाका लागि यो उपाय निकै उपयोगीसिद्ध हुनेछ । हिलाम्ये, र धिपधिपे उज्यालोमा यताउता हिँडडुल गर्नु पनि खतरापूर्ण नै हुन्छ । हाम्रा कर्मचारी खाद्य–बितरणको अवस्थाका बारेमा शिबिरका हरेक छाप्रामा पुगेर जानकारी लिन त्यति सहज छैन । 

गत वर्षको अगष्टमा कोक्स बजारमा सीमावर्ती म्यान्मारबाट रोहिङ्या प्रवेश गर्न थालेसँगै यहाँका स्थानीयबासीले ज्यादै उदारभाव प्रकट गरेका थिए । मुस्लिम समुदायको ठूलो चाड ईदकै समयमा आएका ती शरणार्थीलाई स्थानीयबासीले मिठोमिठो खाना खुवाएको कुरा सुरुमा आएकाले अनगिन्ति कथा सुनाउँछन् । बाहिरबाट घुम्न आउनेका लागि यहाँका स्थानीयबासी अनौठा लाग्दैनन् । यहाँको १२० किलोमिटर लामो प्राकृतिक समुद्रीतट घुम्न हरेक वर्ष हजारौं पर्यटक यहाँ ओहिरिन्छन् । म्यान्मारमा हिंसा फैलनासाथ शरणार्थीका रुपमा रोहिङ्याहरु यहाँ आउन थालेको दशकौं भइसक्यो । 

दुर्भाग्यवश, ईद र कुनै अतिरिक्त खाद्यान्न पाउने कुरा अब सम्झना मात्र रह्यो । यहाँका धेरैजसो स्थानीयबासी माझी हुन् वा धानको खेती गर्ने किसान हुन् । उनीहरुको कतिपय जग्गाजमिन, सडक र बजारमा अहिले तिनै शरणार्थी बस्न थालेका छन्, र जताततै शरणार्थीले खचाखच भएको छ । 

शरणार्थी र स्थानीयबासीबीच कुनै किसिमको तनाब उत्पन्न हुन नदिन अन्तरराष्ट्रिय सहायता दुबै समुदायलाई उपलब्ध गराउनु बुद्धिमानी हुनेछ । शरणार्थीका सर्वाधिक महत्वपूर्ण आवश्यकता पूरा गर्नुका अलावा डब्लुएफपीले स्थानीय विद्यालयमा पढ्ने बालबालिकालाई खाजा खुवाउने, पोषण र जीविकोपार्जनका कृयाकलापहरु पनि सञ्चालन गरिरहेको छ । 

विषम परिस्थितिका बाबजूद शिबिरमा मैले भेटेका मानिसहरु असाध्यै सहयोगी देखिए । बालबालिकाले आफूले भेटेका बस्तुबाट खेलौना बनाइरहेका थिए । महिलाहरु आफ्ना बाँसका छाप्रालाई राम्रो बनाउन मिहेनत गरिरहेका थिए । मैले जता हेरेपनि, महिला, पुरुष, बालबालिका सबै आफ्नो जीवनमा सुधार ल्याउन सक्दो काम गरिरहेका भेटिए । स–साना कामहरु जस्तै खाद्यान्न बोक्ने, दाउरा ल्याउने कामहरु महिला, पुरुष र बालबालिका सबैले मिलेर गरेको पाइयो । 

निःसन्देह हिजोभन्दा भोलिका दिन राम्रो बनाउने प्रतिबद्धता आवश्यक छ । बंगलादेशी निकायहरुलाई मद्दत गर्ने डब्लुएफपी र अरु अन्तरराष्ट्रिय समुदायको भूमिका नै आज रोहिङ्या समुदायले भोग्नु परेका कठिनाइलाई सहज बनाउनु, र समाधानका लागि अग्रसर गराउनु हो । 

(माइकल डनफोर्ड बंगलादेशको कोक्स बजारमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का आपतकालीन सहायता संयोजक हुन् ।)