राजाको होली मान्दा पनि रिसायौ कि तरुनी !

फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको गुच्चा, पैयुँ र पांग्रा एक कुनामा थन्क्याएर स्कुल जानुपर्थ्यो। फागुन महिनाले फागु तुरुन्त बोलाएसँगै टोलछिमेकका सबै साथीसंगिनीसँग फेरि जमेर खेल्ने अवसर जुर्थ्यो।

 

फागुन शुक्ल अष्टमीका दिन काठमाडौं वसन्तपुरमा कुमारी घर अगाडि गद्दि बैठक छेउमा तीनतले चीर ठड्याइन्थ्यो। यसपछि रंग खेल्न फागुले स्वतन्त्रता दिन्थ्यो। अरूबेला रंग खेल्दा प्रहरीले पक्रन सक्थ्यो। त्यसैले फागुका सात दिन सकेसम्म धेरै अबिर खेल्थ्यौं। रंग छ्याप्ने, पचुका (पिचकारी) हान्ने, विभिन्न रंगले साथीसंगीका गाला पोत्ने काम फागु पूर्णिमाको दिन अबेर मात्र सकिन्थ्यो। हाल पनि यो परम्परा कायम छ। काठमाडौंको फागु जम्ने दिन पूर्णिमा नै हो। मधेस तराई र भारतको प्रभाव पर्दै गएपछि भने काठमाडौं आजभोलि फागु हैन, होली खेल्छ।

 

फागुको पर्याय बनेर होलीले काठमाडौं सँस्कृति रंगाउन थालेको पनि उहिल्यै हो। होलीमा गाइने परम्परागत नेवारी गीतको बोलले धेरैअघिदेखि फागु ‘होली’ हुन थालेको भन्छ। गीतले भन्छ– जुजुया होली, तँचायाला ल्यासे। अर्थात्, राजा वा राज्यको होली खेल्दा पनि रिसायौ कि तरुनी। किशोर–किशोरीबीच छेडखानी हुने त्यस गीतका अरू टुक्राले भन्छ– झ्याले चोंगु तुकंमा, वहे ल्यासे जितःमा। अर्थ हो, झ्यालमा तोरी माला, त्यही झ्यालकी तरुनी मलाई चाहिन्छ।

 

अनुप्रासका निम्ति मात्र नारी प्रसंग हो कि भन्ने मलाई लाग्थ्यो। कालान्तरमा जब काठमाडौंका विभिन्न नेवार बस्तीमा झ्यालबाहिर तोरीमुठ्ठाका लामा–लामा माला हावामा सुकाउन राखेको देखेँ, मलाई लाग्यो काठमाडौंको केन्द्रस्थलमा पनि उहिले–उहिले यो ग्रामीण प्रविधि कायम थियो। अझै पनि भक्तपुर, थिमी, ठेचों, लुभु, खोकना, बुंगमती, चापागाउँ लगायत ठाउँमा झ्याल बाहिर तोरी, खुर्सानी, लसुनका पोटी, प्याज आदिको हवाइ भण्डारण देख्न सकिन्छ।

 

उसो त साहित्यकार चक्षुले तरुनीलाई तोरीको फूलको सौन्दर्यमा देख्नु वा हेर्नु नौलो कुरा भएन। ताक्नेले भने तोरीको फूल हैन, तरुनी नै ताकेको हुन्छ। फागुमा सहरका सडकमा गाइने उक्त गीतका अरू टुक्राले भन्छ– तुँ तुँचा, मय्जुया पिलाको बाँला, बागमतो बनेबले लेवो नापला। अर्थात्, कुनै अज्ञात नाम तुँ तुँचा मैँयाको पिँडुला कति राम्रा, बागमती जाँदा पनि प्रेमिका भेटिहाल्ने। नेवार युवतीहरू त्यसबेला कालो पटासी (सारी) पहिरनमा पिँडुला प्रदर्शनमा निपुण थिए। बाहिर घुम्न जाने भनेको बागमती र यस्तै तीर्थस्थल मात्र थियो भन्ने फागुको यो गीतले झल्काउँछ।

 

फागु भनौं वा होली, यस पर्वको रोमाञ्चकारी पक्षलाई कृष्णलीलाको चीरहरणसँग गाँसेर हेरिन्छ। कथाअनुसार वृन्दावनका गोपिनीहरू पोखरीमा निर्वस्त्र नुहाउन डुबुल्की मारिरहेका बेला कृष्णले उनीहरूका सबै वस्त्र रूखमा झुन्ड्याइदिएका थिए। चिल्ली न बिल्ली परेका गोपिनी र कृष्णको यो उट्पट्याङ प्रसंग नै होलीको चीर गाड्ने परम्परासँग जोडिएको मानिन्छ। वसन्तपुरमा ठड्याइने चीरका ध्वाजाहरू गोपिनीका रंगिविरंगी वस्त्रका प्रतीक हुन् भन्ने मान्यता छ।

 

फागुको रंग अबिरमा निहीत हुन्छ। नरम गालामा रातो अबिर दल्नु फागुको मूल कृडाकलाप हो। राधाजीको गोरो गालामा रातो अबिर दलेर फागु सुरु भएको मानिन्छ। मेरो जमानाको अबिर आजभोलिको जस्तो धुँदा पनि नगएर दाग छाड्ने हुँदैन थियो। उबेलाको अबिर प्राकृतिक फूलको रंगबाट बनाइन्थ्यो। विशेषगरी पलाँसको फूल अबिरको मुख्य स्रोत हुन्थ्यो। हामीले फागु खेल्दासम्म रातो अबिर, नीलो रंग, सेतो कमेरो माटो, पहेँलो धूलो (सायद पहेँलो माटो वा बेसारबाट बनेको), यदाकदा कालो मोसो (धुवाँबाट बनाइएको) गालामा दलिन्थ्यो।

 

मलाई लाग्छ, प्राकृतिक रंगको प्रणय नै फागु हो, होली हो। त्यसैले कृत्रिम रसायनका रंग त्यागेर पर्यावरणमैत्री (इको फ्रेन्ड्ली) होली परम्परा बसाउनु आजका युवायुवतीको कर्तव्य हो। २०१० सालतिर पनि काठमाडौंमा तरुनी केटीहरू सहर बजारमा उति साह्रो देखिँदैन थिए। राम्री केटीको दर्शन झ्याल–झ्यालमै सीमित हुन्थ्यो। त्यसमा पनि आँखीझ्याल (टिकी झ्याः) भित्रबाट चियाउने केटी परिन् भने त केटाहरूलाई अरू फसाद। होली सकिएको धेरै दिनसम्म राम्रा चेली भएका घरका झ्याल अबिरले रंगिएका देख्थ्यौं। होली पर्वमा बर्सेको लोलाले रंगाएको झ्यालले कुन घरमा ताक्ने भन्ने संकेत दिन्थ्यो। फागु खेल्दाको ती लोला आजभोलि लोप भइसकेको छ।

 

लोला नदेखेको पचासौं वर्ष भइसक्यो होला। त्यतिबेलाका लोला अहिलेजस्ता हुँदैन थिए। लाहाबाट बनेका हुन्थे। हामीले घरमा बाल्ने बिजुलीको सानो चीम जस्तै गोलाकार लोला अति नै नाजुक लाहाको पातलो बोक्राभित्र अबिर र झिलीमिली जरीले भरिएको हुन्थ्यो। पगालेको काँचलाई मुखले हावा फुकेर र बोतल बनाएझैं पगालेको लाहालाई फुकेर लोला बनाइन्छ भन्ने सुनेको थिएँ। देखेको होइन। चिठी–पत्र रजिष्टर गरी पठाउँदा लाहा छाप भने आफैंले सयौंपटक लगाएको छु। लाहाको टुक्रालाई मैनबत्तीमा सल्काएर पग्लेको झोल चिठीको खाममा औंठीको छाप लगाउनुपर्थ्यो। लाहा तुरुन्तै जमेर कक्रक्क पर्छ।

 

होली, लोला र लाहाको कुरा गर्दा महाभारत कथामा आउने ‘लाक्षा गृह’ प्रसंग पनि सम्झना हुन्छ। आजभोलि रबर बेलुनमा पानी वा रंग भरेर लोला हान्ने चलन छ। यस्ता लोला हातबाट छुटेर झ्यालमा लागेर झर्दा पनि नफुट्ने हुन सक्छ। लाहाको लोला भने हान्न जानेन भने हातैमा पिटिक्क फुट्छ। यस्तो देख्दा त्योबेला झ्यालका तरुनीहरूको खिसीयुक्त हाँसो खपिनसक्नु हुन्छ।

 

राणाकालीन काठमाडौंमा होलीको विशेष रौनक राणाजीका दरबार–दरबारमा रन्किने कुरा हामी सुन्थ्यौं। सरकारी कर्मचारी तथा दरबारियाहरू होली खेलेर फर्किँदा सर्वांग रंगीन कपडामा देखिन्थे। उनीहरूले आफूसँगै बोकेर ल्याएका अबिरका पोका टोलका केटाकेटीलाई बाँड्थे। दरबारका होलीमा पचका (पिचकारी) र बाल्टिनले रंग छ्याप्ने मात्र होइन, खासीमा नै डुबाइदिने गरेको पनि उनीहरू सुनाउँथे। यता हामी भने बाँसको ढुंग्रोबाट पचका बनाउन घन्टौं खर्चन्थ्यौं। तै राम्रो बन्थेन। आजभोलि जस्तो प्लाष्टिकको पचका पाएको भए…

 

काठमाडौंको होली पूर्णिमाको मध्यराततिर सकिन्छ। वसन्तपुरमा गाडिएको चीर टुँडिखेलबीचमा ल्याएर दाह गरेपछि फागु पर्व अन्त्य हुन्छ। चीरको खरानी हारालुछ गरेर विभूतिका रूपमा घर लैजान हामी आतुर हुन्थ्यौं। इन्द्रचोक, भेडासिंहतिरका मारवाडी साहु तथा तिनका मान्छे त्यो खरानीमा मरिहत्ते गर्थे। किनकि, भोलिपल्ट उनीहरू त्यही खरानीको होली खेलेर परम्परालाई सार्थक बनाउँथे।

 

पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो। पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन। असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्व नै होली हो भन्ने मान्यता छ। मधेस तराईमा पूर्णिमाको भोलिपल्ट होली मनाउनुको सार्थकता यही कुराले प्रस्ट्याउँछ। त्यताको होलीमा रंगको नशामा भंगको नशा चढेपछि हर्षोल्लास चरममा पुग्छ।

 

विसं २०१०–१२ सालताक म भेडासिंहतिरका केही मारवाडीका छोराछोरीलाई पढाउँथे। आफ्नो फागु खेल्ने दिन सकिएपछि भोलिपल्ट साहुजीकहाँ पुगेको थिएँ। उनीहरू आफ्ना चोक र बुँइगलमा होली खेल्दै थिए। होलीले मलाई पनि छोपिहाल्यो। म पनि परिवार सरह नै थिएँ र भएँ पनि। हुनु के थियो, एक गिलास घोट्टाको फन्दामा परेँ। त्यो भाङ मिसाएर बनाइएको हुँदो रहेछ। भाङ घोटेर बनाएको दूध, पिस्ता र बदामको पेयले मलाई लठ्याउन थाल्यो। घर हिँडे। कोसौं हिँडिसक्दा पनि घर पुगिएन। बिहान ओछ्यानमै बिउँझिएँ।

 

२०२० सालतिरको कुरा होला, गोदावरी वनस्पति उद्यानमा फागुको भोज थियो। त्यहाँ पनि अनेक प्रकारका मिठाइ थिए। हाम्रा हाकिम ‘बनारसी बाबू’ हुनुहुन्थ्यो। उहाँको बनारसी सोख कहिलेकाहीँ बल्झिन्थ्यो। यही सोखको फन्दामा हामी युवाहरू पर्यौं। भाङ मिसाइएका मिठाइ खानुपर्यो। कोही हाँसेको हाँस्यै, कोही रोएको रोयै, कोही खाएको खायै। अविस्मरणीय भोज भयो।

 

भाङको अविस्मरणीय अर्को भोज ०३१–३२ सालतिर होला। राजा वीरेन्द्रको विकास क्षेत्र भ्रमण थियो। होलीको दिन महारानी ऐश्वर्यबाट दिवा–भोजको बन्दोबस्त भयो। खाँदै जाँदा थाहा भयो, बँदेलको मासुमा भाङ रहेछ। चालै पाइएन। पुग्ने गरी खाइएछ। पालभित्रको सुताइ। कुम्भकर्णको निदाइमा परेछु। अरू साथीलाई भाङले नचाएछ, हँसाएछ, रूवाएछ। थाहा छैन, के–के गराएछ। भोलिपल्ट सबै एकअर्काको मुख हेरेर हाँस्न, कहिले टोलाउन थाल्यौं।

 

लगभग दस–दस वर्षको अन्तरालमा भाङ सेवन गर्ने अवसर पाएँ। भाङ सेवनपछि दिमाग चकमन्न हुँदो रहेछ। शान्त हुने रहेछ। रिसराग कत्ति पनि बाँकी नरहने। कपडाको धुलाइपछि मैलो लुगा सफा भएजस्तो। दिमाग धुने बुटी पो हो कि जस्तो लाग्यो भाङ। यस्तो भए पनि भाङ खान योग्य बनाउन भने अनुभवी मान्छे नै चाहिने रहेछ। मारवाडीकहाँ खाएको घोट्टा महाराजजीकहाँ बनाउने खालको थियो। गोदावरीमा अनुभवी वैद्यराजजस्ता थिए।

 

धनकुटामा राजाको भोजमा त अझ सतर्कता अपनाइएको बुझिएको थियो। जे होस्, भाङको पोथी बिरूवाको फूल र पातलाई पानीले धुने, पखाल्ने र प्रशोधन गरेर खानेकुरामा मिसाइने रहेछ। भाङको रंगले मात्तिएपछि होलीको माहोल बेग्लै हुन्छ। काठमाडौंको नेवार समुदायमा भने यो चलन चलेको थाहा छैन। त्यसैले होला हामी होली कम, फागु धेरै मनाउँछौं।

प्रतिकृया दिनुहोस

सडकमा साँढेहरूका बीच हिँडिरहेजस्तो लाग्छ

काठमाडौं शान्त थियो। चारैतिर आँखालाई शितल दिने हरियोपरियो। कान चंगा बनाउने चिरबिर। बतास सिरसिराउने ज्याकरन्डा रूखका पातहरू। पुरानो सभ्यताबीच

दोषी दण्डित हुनुपर्छ, सिंगो न्यायालय हैन

मेडिकल शिक्षासम्बन्धी मुद्दाहरूमा पुनरावेदन अदालतदेखि सर्वोच्च अदालतसम्म, न्यायाधीश हुँदादेखि प्रधानन्यायाधीश हुँदासम्म, गोपाल पराजुलीको न्याय

न्यायालयमा शुद्धीकरणको खाँचो

पन्ध्र वर्षको अध्ययन र अनुसन्धानपछि प्रकाशित चर्चित पुस्तक ‘ह्वाइ नेसन फेल’ मा लेखकद्वय जेम्स रविन्सन र डयारन एस मोग्लुकोको निष्कर्ष थियो, जब