सडकमा साँढेहरूका बीच हिँडिरहेजस्तो लाग्छ

काठमाडौं शान्त थियो। चारैतिर आँखालाई शितल दिने हरियोपरियो। कान चंगा बनाउने चिरबिर। बतास सिरसिराउने ज्याकरन्डा रूखका पातहरू।

पुरानो सभ्यताबीच प्रकृतिको स्वाद लिँदै हिँड्नुको मज्जै बेग्लै।

मलाई हिँड्नमा टक बस्यो।

म २०४२ सालमा पोखराबाट पढ्न काठमाडौं आएको हुँ। गाडीको घन्चमन्च थिएन। बाटाहरू खुला थिए। हिँड्न स्वाद पर्यो। पढ्न बसेको विद्यार्थी, पैसा खासै हुन्थेन। हिँड्नमै रमाएपछि अरू के चाहियो!

त्यतिबेला काठमाडौंमा हिँड्न सहज थियो। हामी काठमाडौं, पाटन र कीर्तिपुरका गल्ली–गल्ली हिँडेरै चहार्थ्यौं। गाडी भाडा जोगिने, व्यायाम पनि हुने। अरू मान्छे पनि धेरैजसो हिँड्थे, कि सार्वजनिक गाडी चढ्थे।

सार्वजनिक गाडीमा गुन्द्रुक खाँदेजस्तै मान्छे कोचिन्थ्यो। मलाई साह्रै उकुसमुकुस हुन्थ्यो। म गाडीका पाङ्ग्राभन्दा आफ्नै खुट्टाको भर पर्न थालेँ।

पचास वर्ष भएँ। त्यो बानी अहिले पनि छुटेको छैन। धेरैजसो हिँडेरै यात्रा गर्छु। अपर्झट पर्दा मात्र गाडी चढ्ने हो। ललितपुर, भैंसेपाटी बस्ने म दिनको औसत पन्ध्र किलोमिटर हिँड्छु। नियमित हिँडाइले मलाई समाजमा घुलमिल भएको अनुभूति हुन्छ।

भौगोलिक रूपमा पनि काठमाडौं पैदलयात्रुको सहर हो। अतिव्यस्त हो भने ठिक छ, नभए सामान्य दिनचर्या भएकालाई यहाँ गाडी नै किन चाहिन्छ? त्यति ठूलो क्षेत्रफलको ठाउँ होइन। जहाँ पनि हिँडेरै पुग्न सकिन्छ। सामान्य मान्छेले दिनभरिमा जहाँ–जहाँ पुग्नुपर्ने हो, सबै ठाउँ हिँडेरै भ्याए पनि १० देखि १५ किलोमिटरभन्दा बढी हुँदैन भन्ने मलाई लाग्छ।

 

तर, काठमाडौं हिँडाइ पहिलेजस्तो आनन्ददायक रहेन।

उतिबेला बतासको सिरसिर र चराका चिरबिर सुनिन्थ्यो। अहिले के सुनिन्छ?

गाडीको ट्वाँट्वाँ, घ्यारघ्यार, घच्याकघुचुक!

न चरा सुनिन्छन्, न नानीबाबुको हाँसो। पातको सरसर त कता हरायो, कता?

काठमाडौं हिँडाइ सकसपूर्ण हुन थालेको सवारीको घन्चमन्च बढेपछि हो। २०५०–५१ सालपछि मोटरसाइकल संख्या ह्वात्तै बढ्यो। २०६०–६१ पछि गाडी पनि बढे।

सडक क्षमता हेरेर मात्र गाडी आयात गर्नुपर्छ भन्ने कसैले सोचेनन्। न सरकारले सोच्यो, न गाडी किन्नेहरूले सोचे। गाडी कम्पनीहरूले त सोच्ने कुरै भएन।

हामीले गाडीलाई बढी नै प्राथमिकता दियौं। सडकअनुसार गाडी होइन, गाडीअनुसार सडक बढाउन थाल्यौं। त्यो पनि व्यवस्थित होइन, जथाभाबी। कुनाकाप्चा, गल्ली, चोक केही बाँकी राखेनौं। पुराना बाटा मासेर सडक फराक पार्यौं। त्यही फराक सडकमा चिल्ला गाडी हुइँक्याउने ठाउँ बनायौं।

हाम्रो गाडीमोह कतिसम्म प्रगाढ देखियो भने, एक इन्च ठाउँ रहेसम्म सडक फैलाउन छाडेनौं। बरू यसका लागि मान्छे हिँड्ने फुटपाथै मास्न किन नपरोस्!

अहिले काठमाडौंका मुख्य सडकहरू नै हेर्नुस्! खै कहाँ छ मान्छेलाई सुविस्तासँग हिँड्न मिल्ने फुटपाथ। उहाँ भने गाडी हिँड्न बाटो चिल्लो भएन भनेर हामी कराका करायै गर्छौं। फुटपाथ भत्किएको, मासिएको कसैलाई चिन्ता छैन।

कुनै पनि सहरको सुन्दरता कति गाडी कुद्छन् भन्नेमा निर्भर गर्दैन। विदेशी पर्यटक यहाँ आउने भनेको के गाडी हेर्नलाई हो र? यहाँका साँस्कृतिक सम्पदा हेर्नलाई हो। ती गाडीबाट सर्रर हेरेर हुँदैन। त्यहाँसम्म पुग्नुपर्यो। महशुस गर्नुपर्यो। यसका लागि पनि पैदल हिँड्ने बाटो नै सुविधाजनक हुनुपर्छ।

हामीले गाडी कुद्ने बाटो मात्र बनायौं, मान्छे हिँड्ने बाटो बनाएनौं।

जबसम्म मान्छे हिँड्ने बाटो बन्दैन, सहर बन्दैन।

अझै पनि काठमाडौंमा ५० प्रतिशतभन्दा बढी मान्छे हिँडेरै यात्रा गर्छन्। अरू ५० प्रतिशत कहीँ न कहीँ हिँड्नैपर्छ। चाहे त्यो दुई पाइला होस् चाहे सय। यहाँ त्यही दुई पाइला पनि सुरक्षित भएर हिँड्न नपाउने अवस्था छ।

हामीकहाँ पैदलयात्रु हिँड्ने सुरक्षित ठाउँ छैन। पर्खालमा चेपिँदै हिँड्नुपर्छ। बाटो काट्न सकिँदैन। म जसोतसो हिँडुला, बाटो काटुँला। वृद्ध, केटाकेटी र अपांगता भएका व्यक्तिले कसरी हिँड्नु?

केही समयअघि पुल्चोक हिमालयन होटलअगाडि एक जना दृष्टिविहीन भाइ उभिरहनुभएको थियो। उहाँ निकैबेर त्यहाँ उभिनुभयो। सेतो छडी सडकमा टुकटुक पार्दै अगाडि बढ्न खोज्नुहुन्थ्यो। फेरि पछाडि फर्कनुहुन्थ्यो। गाडी हुइँकिनै रहे। कुनै एउटा सवारीसाधन उहाँका निम्ति अडिएन। उल्टो द्रुत कुदे।

उहाँलाई सडक पार गर्नु थियो। मसँगै पारि गइसकेपछि सोधेँ, ‘कहाँ जानुपर्ने हो?’

‘यहीँ, सडक पार गर्नु थियो। बाटो थाहा नभएको हो र, काट्न पो नसकेको।’

यस्तै अवस्था छ, हरेक बटुवाको।

 

मेरो गृहजिल्ला पोखरामा पनि यस्तै भयो। हरेक मान्छेसँग गाडी हुन थाल्यो। यति सस्तो र सुलभ तरिकाले गाडी उपलब्ध हुन थाले, कुनै सडक र घर गाडीबिनाको भएन।

नेपालीहरूको आम्दानी बढ्नासाथ गाडी ‘आवश्यकता’ बन्न थाल्यो। झन् बैंकले फाइनान्स सुविधा दिन थालेपछि कम पैसामै गाडीमा हुइँकिने मौका दियो।

मान्छेले गाडी किन्न सक्ने हुनु राम्रो हो, तर गाडी हुनु नै समृद्धिको सूचक हो भन्ने म मान्दिनँ।

काठमाडौंमा केही संख्यामा मात्र गाडी हुँदा बटुवालाई बाटो काट्न हम्मे पर्थेन। कोही मान्छे बाटो काट्दै छ भने, चालकले सहजै गाडी रोक्दिन्थे। मान्छेमा हार्दिकता थियो। अनि बटुवाले जोखिम नमोली बाटो काट्न सक्थ्यो।

अचेल यस्ता दृश्य देखिन्नन्।

गाडी बढेपछि सडक व्यस्त भयो। मान्छे हिँड्ने बाटो अस्तव्यस्त भयो। कतिपय ठाउँमा बनिसकेका फुटपाथ भत्काइए। फूल–बिरूवा रोप्ने बहानामा खनिए। हावाहुरी पहिले पनि चल्थ्यो। त्यसको आवाज सुन्दै रमाउने दिन थिए। अहिले हावा नचल्दै धूलोधुवाँले आँखा देख्न मुश्किल छ। हुरी आउँदा त कुइरीमण्डल धूलोमा चस्मा र मास्क नलगाई हिँड्नै सकिन्न।

म अचेल हरेक मान्छे आफ्नो अनुहार गुटुमुटु छोपेर हिँडेको देख्छु। मान्छेका अनुहार देखिँदैनन्। पहिचान छैन। भाव छैन। बिरानो सहरमा लम्किइरहेको जस्तो आभाष हुन्छ।

सडकमा जहीँतहीँ खाल्डा छन्। सडक बनाउनु राम्रो हो। व्यवस्थित बनाउन सकिन्छ। बिहान हिँडेर आएको बाटोमा बेलुकी आउँदा बडेमानको खाल्डो हुन्छ। कहाँ गएर मान्छे भासिन्छ थाहा छैन। अझ अहिले त बत्ती छ। लोडसेडिङ बेला छामछुम गर्दै पाइला चाल्नुपर्थ्यो।

सडक, भवन बनाउँदा खनेको ठाउँमा सूचना राख्न सकिन्छ। बोर्ड वा अन्य कुनै संकेतचिह्न राखिदिए केही हदसम्म सहज हुन्छ। सबैले राति आँखा उचाल्दै हिँड्न कहाँ सक्छन्?

यस्तो गर्नेमा हामी आफैं पनि कम छैनौं।

कतिपयले घर बनाउँदा अगाडि बाटोमै माटो, ढुंगा, इँटा, बालुवा थुपारिदिन्छन्। फुटपाथमा हिँड्नेले महिनौंसम्म मोडिएर हिँड्नुपर्छ। अरूलाई दुःख हुन्छ भन्ने पनि सोच्दैनन्। यो त देख्नेहरूले हो। त्यो बाटो दृष्टिविहीनको पनि हो, ह्विलचेयरमा हिँड्नेका लागि पनि हो, बिरामीका लागि पनि हो। उनीहरूलाई त्यस्ता बाटोमा हिँड्न कति अप्ठ्यारो हुन्छ होला?

फुटपाथ बिग्रनु वा नहुनु सरकारको मात्र समस्या होइन। हामी सर्वसाधारण नै यसमा सचेत हुन सकेका छैनौं। हामी आफ्नै घर, पसल अगाडिका फुटपाथ सपार्नुको साटो उल्टै बिगार्छौं।

यी यस्ता काम हुन्, जसमा सरकारको मुख मात्र नताकेर आफैं पहल गर्न सक्छौं। भएका फुटपाथ नमास्ने र त्यत्रा घर बनाउँदा आफ्नो अगाडिको थोरै फुटपाथ सुधार्न सकिन्छ। हामी नजान्ने छैनौं, तर सजिलै बुझ पचाइदिन्छौं।

कतिसम्म भने, जेब्रा–क्रसिङमा गाडी रोकेर बाटो काट्नेलाई ठाउँ दिनुपर्छ भन्ने पनि भुलिदिन्छौं। यसको उदाहरण सिंहदरबार अगाडि देख्न सकिन्छ। त्यहाँ चारतिर बाटा छन्। जेब्रा–क्रसिङ छन्। अन्त ट्राफिक इसारामा जेब्रा–क्रसिङ वरै गाडी रोकिन्छन्, अनि मान्छे हिँड्छन्। सिंहदरबार गेट अगाडिको जेब्रा–क्रसिङमा भने यस्तो हुँदैन। त्यहाँबाट निस्केका गाडी जेब्रा–क्रसिङ ढकमक्क ढाकेर त्यसैमाथि रोकिन्छन्। मान्छे गाडीको अगाडि वा पछाडिबाट मोडिएर हिँड्नुपर्छ।

 

गाडी त्यसरी रोक्ने मान्छेलाई जेब्रा–क्रसिङको प्रयोजन के हो, त्यहाँ गाडी रोक्नुहुन्न भन्ने थाहा नभएको हो र? थाहा पाएर पनि ऊ बुझ पचाउँछ। यो सबै सडक चेत नहुनुको परिणाम हो। गाडी मान्छेभन्दा शक्तिशाली छ भन्ने मानसिकताको उपज हो।

यी सबै घटनाले मलाई सडकमा हिँड्दा साढेँहरूका बीचमा हिँड्नु परेजस्तो लाग्छ।

एकपटक म फुटपाथमै हिँडिरहेको थिएँ। बिहान १० बजेको समय थियो। सडक व्यस्त थियो। फुटपाथमा पनि मान्छे हतारहतार हिँड्दै थिए। पछाडिबाट टिँटिँ आवाज आयो। फर्केर हेरेको फुटपाथमै दुई–तीनवटा मोटरसाइकल उक्लेका थिए। केही युवा, केही अधवैंसे।

मैले भनेँ, ‘यो फुटपाथ हो, हामी हिँडिरहेका छौं।’

उनीहरूमध्ये एक जना उल्टै ‘के’ भन्दै जंगियो।

मैले पनि झोक्किएर ‘यो मान्छे हिँड्ने बाटो हो’ भनेपछि फुटपाथमा हिँडिरहेका अरू मान्छेले पनि सही थाप्नुभयो।

म त्यो दिन एक्लै भएको भए मेरो आवाज मोटरसाइकल चालकसम्म पुग्दैन थियो। फुटपाथमा हिँड्ने सबैको आवाज मिसिएपछि मोटरसाइकल आफ्नै बाटोमा हिँड्यो।

हामीले गर्ने यही हो।

 

मेसिन भनेको त मान्छेले आफ्नो सहजता निम्ति अरूको स्वतन्त्रता हनन नगरी प्रयोग गर्ने चिज हो। अहिले मान्छे मेसिन प्रयोग गर्न छाडेर आफैं मेसिनजस्ता भएका छन्। काठमाडौं यिनै मेसिनले घेरिएपछि बटुवाका पाइला धर्मराउन थालेका छन्।

२०४२ सालदेखि काठमाडौंमा हिँडिरहेका मेरा पाइला पनि यसैगरी धर्मराएका छन्।

एकान्तकुनामा एक जना भाइ सधैं ह्विलचेयरमा आवतजावत गरेको म देख्थेँ। एकदिन त्यहाँ बाटो खनियो। उनलाई अब अप्ठ्यारो हुन थाल्यो। म समय पर्दा उनलाई उकालो–ओरालोको अप्ठ्यारो बाटो कटाइदिन्थेँ। एकदिन कलेज पढ्ने एक जना बहिनी आएर मलाई भनिन्, ‘दाइ म लग्दिन्छु, उहाँको र मेरो घर एकैतिर हो।’

‘म सधैं तपाईंले उहाँलाई डोर्याएको देख्छु, त्यही भएर आएको,’ ती बहिनीले भनिन्।

ती बहिनीलाई देखेर मलाई खुसी लाग्यो।

स्थिति जतिसुकै बिग्रेको होस्। पाइलाहरू जतिसुकै धर्मराएका होऊन्। आशाको दियो धिपधिप बाँकी छ। कलेज पढ्ने ती बहिनीजस्तै नयाँ पुस्ताले बचाएको छ, आशा।

म यही नयाँ पुस्तासँग आग्रह गर्न चाहन्छु, ‘काठमाडौं धेरै बिग्रिसक्यो, अझै नबिगारौं।’

प्रतिकृया दिनुहोस

दोषी दण्डित हुनुपर्छ, सिंगो न्यायालय हैन

मेडिकल शिक्षासम्बन्धी मुद्दाहरूमा पुनरावेदन अदालतदेखि सर्वोच्च अदालतसम्म, न्यायाधीश हुँदादेखि प्रधानन्यायाधीश हुँदासम्म, गोपाल पराजुलीको न्याय

न्यायालयमा शुद्धीकरणको खाँचो

पन्ध्र वर्षको अध्ययन र अनुसन्धानपछि प्रकाशित चर्चित पुस्तक ‘ह्वाइ नेसन फेल’ मा लेखकद्वय जेम्स रविन्सन र डयारन एस मोग्लुकोको निष्कर्ष थियो, जब

राजाको होली मान्दा पनि रिसायौ कि तरुनी !

फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको